इन्धन खपत घटाउन आयल निगमको विशेष अपिल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्दै इन्धन खपत घटाउन र मितव्ययिता अपनाउन उपभोक्तालाई विशेष अपिल गरेको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले सार्वजनिक सन्देश जारी गर्दै मध्यपूर्वमा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण निगम चरम आर्थिक संकटमा परेको बताए। कार्यकारी निर्देशक भट्टले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै निगमको वित्तीय अवस्था ‘धराशायी’ हुन पुगेको उल्लेख गरे।

'मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको छ, यस परिस्थितिमा स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसक्दा निगमको घाटा अप्रत्याशित रूपमा बढ्न गई वित्तीय अवस्था कमजोर हुन पुगेको छ', उनले भने ।

निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम तिर्न नसक्ने अवस्था आएको र यसले आपूर्ति शृङ्खला नै अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ। कार्यकारी निर्देशक भट्टले विभिन्न स्रोतबाट रकम जुटाएर आईओसीलाई ठूलो रकम भुक्तानी गरेको बताए।

निगमले आपूर्ति शृङ्खला नियमित गर्न नेपाल सरकारबाट प्रदान गरिएको कर छुटबाट बचत भएको रकम, मार्च २३ देखि अप्रिल ७ सम्मको बिक्रीबाट उठेको रकम र निगमको मूल्य स्थिरीकरण कोषमा जम्मा भएको रकमबाट ८ अप्रिल २०२६ मा आईओसीलाई २६ अर्ब ८६ करोड भुक्तानी गरेको छ। भट्टका अनुसार आगामी अप्रिल २३ मा बुझाउनुपर्ने अर्को किस्ताका लागि करिब १६ अर्ब ३७ करोड रुपैयाँ व्यवस्थापन गर्नुपर्ने चुनौती छ।