सञ्चालनमा आयो नागढुंगा-काठमाडौँ सुरुङमार्ग
काठमाडौँ। काठमाडौँ र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको छ। उक्त सुरुङमार्गको सोमबार उद्घाटन गरिएको हो।
२९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो। नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गरेका हुन्।
.png)
पहिलो चरणमा आपत्कालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन्। त्यसपछि चरणबद्ध रूपमा अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौं आउजाउ गर्न पाउने छन्।
विसं. २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो। कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ भयो।
.png)
मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ। यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ। पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन्।
.png)
सुरुङ प्रयोग निःशुल्क भने होइन। काठमाडौं भित्रिँदा र बाहिरिँदा कार/भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ। मिनीबस, टिपरले भित्रिँदा ११५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २६०, बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने हुन्छ। यसबाहेक हेभी ट्रकले भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।
जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो। तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो। यसपछि जापानले फेरि पाँच अर्ब ऋण सहायता थपिदिएको थियो। यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।
.png)