सुनसरी र सिराहाको प्रदर्शनमा मृत्यु भएका ४ जना सहिद घोषणा

काठमाडौँ। सरकारले सुनसरी र सिराहाको प्रदर्शनको क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गरेको छ। 

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो। प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जय प्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने’ निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यसैषरी नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय पनि भएको छ।

यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने निर्णय पनि भएको उनले बताए।

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने र पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय भएको उनको भनाइ छ।