रवीन्द्र ढाँटको ऐतिहासिक यात्राः रोड टु युएफसीको उपाधिका लागि ताजिमासँग भिड्ने

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट युएफसीमा प्रवेश गर्ने ऐतिहासिक अवसरको एक कदम नजिक पुगेका छन्। रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै उनी फाइनलमा पुगेका हुन्।

चीनको साङ्घाईमा भएको प्रतिस्पर्धात्मक तीन राउन्डको खेलमा ढाँटले मर्डोकलाई स्प्लिट डिसिजनका आधारमा हराए। तीनमध्ये दुई निर्णायकले ढाँटको पक्षमा २९–२८ अंक दिए भने एक निर्णायकले मर्डोकलाई २९–२८ अंक दिएका थिए।

यस जितसँगै ढाँटले रोड टु युएफसीको बान्टमवेट फाइनलमा स्थान बनाएका छन्। फाइनलमा उनले जापानका र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुंग्रेन कोरेनलाई सर्वसम्मत निर्णयमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

अब ढाँटसामु रोड टु युएफसीको उपाधिसँगै युएफसीमा बहुवर्षीय सम्झौता हासिल गर्ने अवसर छ। प्रतियोगिताको फाइनल जित्ने खेलाडीले युएफसीमा प्रवेश गर्ने अवसर पाउनेछ।

ढाँटको यो जित नेपालका लागि पनि विशेष उपलब्धिका रूपमा हेरिएको छ। युएफसीको आधिकारिक विवरणले समेत उनको सेमिफाइनल जितलाई बाढीबाट प्रभावित नेपालका नागरिकका लागि खुसी र उत्साहको क्षणका रूपमा उल्लेख गरेको छ।