प्रधानमन्त्री भन्छन् : भोटेकोशी बाढीमा १ हजार २५९ जना प्रियजन गुमायौं, ५ हजार ८३ जनाको खोजी कार्य जारी छ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्रता दिइएको बताएका छन्। बिहीबार राति सामाजिक सञ्जालमार्फत विपद् प्रतिकार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढीको सूचना प्राप्त भएलगत्तै राज्यका सबै संयन्त्र परिचालन गरिएकाले ठूलो संख्यामा प्रभावितको उद्धार गर्न सम्भव भएको दाबी गरेका छन्।

उनका अनुसार हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। यद्यपि विपद्मा परी १ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका नागरिकको विस्तृत विवरण संकलन गर्ने कामसमेत भइरहेको बताएका छन्।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा मानिस फसेको हुनसक्ने आशंकामा खोजी तथा उद्धार अभियान जारी रहेको उनले जानकारी दिएका छन्। उनका अनुसार नेपाली सेनाको नेतृत्वमा भारत, चीन र दक्षिण कोरियाका विज्ञहरू समेत उद्धार तथा खोजी कार्यमा संलग्न छन्।

यसैबीच, बाढीका कारण चीनको केरुङमा रोकिएका ११४ नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसैगरी, चीनतर्फ रोकिएका मालवाहक कन्टेनरलाई भने कोरला नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिएका छन्।