बाढीपीडितका लागि व्यवसायी कार्कीले गरे सहयोग

काठमाडौं, २० भदौ । रसुवाको भोटेकोशीलगायत देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोबाट प्रभावितको राहत तथा सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य प्रयास कार्कीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग गरेका छन्।

कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँनेपाल उद्योग वाणिज्य महासंघमार्फत १ लाख ११ हजार १११ रुपैयाँ गरी उक्त रकम सहयोग गरेका हुन्। विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको दुःखमा साथ दिनु मानवीय कर्तव्य भएको भन्दै कार्कीले सहयोग गरेको बताएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो सहयोगबारे जानकारी दिँदै उनले सहयोगको रकम पीडितले भोगिरहेको दुःखको तुलनामा सानो भए पनि सहयोग गर्ने भावना ठूलो हुनुपर्ने बताएका छन्। उनले आफ्नो सहयोगले विपद्मा परेका परिवारको पीडामा केही भए पनि मल्हम लगाउन सकोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

कार्कीले विपद्को समयमा सम्पत्ति, पद र परिचयभन्दा मानवता र एकअर्काप्रतिको साथ महत्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार पीडितको पक्षमा उभिन आग्रह गरेका छन्। उनले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र उद्धार, राहत र पुनःस्थापनाको कामना गरेका छन्।