बाढीपीडितका लागि गोरखा ब्रुअरीले दियो १० करोड
अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम हस्तान्तरण गर्दै गोरखा ब्रुअरीको टोली।
सरकारी उद्धार अभियानमा निजी क्षेत्रको साथ
काठमाडौं । रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीपछि प्रभावितको उद्धार तथा राहत अभियानमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको छ। यही क्रममा गोरखा ब्रुअरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
बिहीबार कम्पनीका अधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। गोरखा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले अर्थमन्त्री वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत संकलन र परिचालन गरिरहेको छ।
सरकारले निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थालाई विपद्मा परेका नागरिकको उद्धार र राहतका लागि सहयोग गर्न आह्वान गरेपछि कर्पोरेट क्षेत्रबाट आर्थिक सहयोग गर्ने क्रम बढेको हो। पछिल्लो समय विभिन्न बैंक, उद्योग तथा व्यावसायिक समूहले उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग घोषणा तथा हस्तान्तरण गरिरहेका छन्।