रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने
फाइल फोटो
चितवन । रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि १२ सम्मका विद्यार्थीलाई नि:शुल्क शिक्षा दिन लागेको हो।
विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर नि:शुल्क शिक्षा दिन लागिएको नगरप्रमुख प्रल्हाद सापकोटाले जानकारी दिए। नगरपालिकाले माध्यमिक तह नि:शुल्क शिक्षा कार्यान्वयनका लागि सुझाव समिति बनाएर अध्ययन गरेको थियो। समितिले दिएको प्रतिवेदनअनुसार नगरपालिकाले अहिलेको विद्यार्थी सङ्ख्यालाई आधार मानेर नि:शुल्क गर्दा वार्षिक २ करोड ४० लाख खर्च हुने भएको छ।
शिक्षक र कर्मचारीको तलबबाहेक विद्यालय सञ्चालनका लागि वार्षिक दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। यस नगरपालिकामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दुई हजार १६७ रहेको छ। विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिने गरी निःशुल्क शिक्षा घोषणा गर्न लागिएको हो। -रासस