२७ साउन २०८३, बुधबार
12 August , 2026,Wednesday

अब सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन

फाइल फोटो

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्न ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरेको छ।
कार्यालयले मार्गदर्शन कार्यान्वयन गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशनसमेत दिएको जनाएको छ। नयाँ व्यवस्थासँगै नागरिकले सरकारी कार्यालयअनुसार फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने झन्झट र अन्योल हट्ने अपेक्षा गरिएको छ।
मार्गदर्शनले देशभरका सरकारी कार्यालयमा निवेदनका लागि निश्चित र समान ढाँचा कायम गर्नेछ। यसबाट सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र नागरिकमैत्री बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ।
सरकारले परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यममा रूपान्तरण गर्ने लक्ष्यसमेत राखेको छ। सोही क्रममा निवेदन प्रक्रियालाई अनलाइन प्रणाली तथा मोबाइल एपमार्फत उपलब्ध गराउँदै लैजाने तयारीले ‘डिजिटल नेपाल’को अवधारणालाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
सरकारी सेवामा देखिँदै आएको प्रक्रियागत जटिलता कम गर्दै सेवा प्राप्त गर्ने नागरिकको समय र श्रम बचत गर्न नयाँ व्यवस्थाले योगदान गर्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्