बयानका क्रममा ओलीले भने, आपतकालीन अवस्थामा सेनाबाट अपेक्षित सहयोग नभएपछि राजीनामा दिएँ
फाइल फोटो
काठमाडौँ। जेनजी आन्दोलनबाट अपदस्त भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन अवस्थामा नेपाली सेनाले सहयोग नगरेपछि राजीनामा दिएको बताएका छन्। ओलीले अदालतलाई दिएको बयानमा सेनासँग भदौ २४ गते सहयोग माग्दा अपेक्षित सहयोग हुन नसकेपछि राजीनामा दिनुपरेको बताएका हुन्।
प्रहरीको हिरासतमा रहेका ओलीले सरकारी वकिलसमक्ष आफ्नो इन्कारी बयान दिएका छन् भने सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ भइरहेको छ। ओलीले भदौ २३ र २४ को घटना नेपाल राष्ट्रविरुद्धको षडयन्त्र भएको र सो घटनाको सुरुदेखि अन्तिमसम्मका सबै कुराको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले गोली चलाउन आदेश दिने कानून नरहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। ओलीले भनेका छन्–शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र किन यस्तो द्वन्द्व सिर्जना भयो भन्नेबारे छानबिन हुनुपर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु, तर दोषी उम्किनु हुँदैन। घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबै राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म माथि निष्पक्ष कारबाही हुनुपर्छ।
ओलीले आफ्नो बयानमा राष्ट्रको हितमा बोल्दा र काम गर्दा आफूले विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको र सत्ताच्युत गराइएको दाबी समेत गरेका छन् ।