४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

सभामुख अर्यालको शालीनता र क्षमताबाट संसद् लाभान्वित हुनेछ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ। अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसद्को गरिमा बढ्ने विश्वास व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै डा.वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई 'सहयोद्धा र मित्र'को रूपमा चित्रण गर्दै उनको उम्मेदवारीले संसद्‌मा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने बताए। डा.वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण गराए।

अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले सभामुखमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यम वर्गीय सङ्घर्षबाट खारिएको उन्नत चेत रहेको बताए।

सभामुखको मुख्य गुण तटस्थता हुनुपर्नेमा जोड दिँदै डा.वाग्लेले अर्यालले कुनै दलीय आबद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको बताए। उनले इतिहासका सफल सभामुखको स्मरण गर्दै अर्याललाई ती मानकहरू पछ्याउन सुझाव समेत दिए। पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्लाई जीवन्त बनाउन खेल्नुभएको भूमिका र सुवास नेम्वाङको कानूनी विज्ञता एवं समन्वयकारी क्षमताबाट पनि नयाँ सभामुखले सिक्नुपर्ने उनले उल्लेख गरे।

डा.वाग्लेले रास्वपाले 'जेनजी' आन्दोलनको मर्म बोकेर अगाडि बढेको उल्लेख गर्दै अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकाङ्क्षालाई आफ्नै शैलीमा ढालेर मौलिकता दिने विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्