४ वैशाख २०८३, शुक्रबार
17 April , 2026,Friday

एशियाली विकास बैंक र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

तस्बिरः प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय

काठमाडौँ । सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ। 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो। सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ।

यसैगरी हप्तामा दुई दिन बिदा दिने निर्णय सरकारले गरेको छ। पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो।

कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए। नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको उनले बताए।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ।

सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्