रोशीको अनुगमनपछि गृहमन्त्रीले भने, वर्षायाम अघि नै पुनर्निर्माण कार्य सम्पन्न गर्नुस्
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले मंगलबार बीपी राजमार्गको अनुगमन गरेका छन्। अनुगमनको क्रममा वर्षायाम सुरु हुनु अगाडि नै वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका छन्।
पुनर्निर्माण भइरहेको बीपी राजमार्गको मंगलबार निरीक्षण गर्दै मन्त्री गुरुङले सडक कुनै पनि समयमा अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका हुन् । सडक विभागका अधिकारीहरू र निर्माण व्यवसायीलाई उनले काम गर्दा पर्याप्त सुरक्षा अपनाउन पनि निर्देशन दिए। वर्षाका कारण विपद् पर्दा उद्धारमा समेत कठिनाइ हुने गरेको भन्दै उनले तत्काल उपयुक्त स्थानमा हेलिप्याड निर्माण गर्न पनि निर्देशन दिए। कामदारहरूको सुरक्षा महत्त्वपूर्ण रहेकोमा मन्त्री गुरुङले जोड दिए।
२०८१ को बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्ग अहिले पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माण कार्यका कारण अहिले चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलाबाटै सवारीसाधन सञ्चालन हुँदै आएको छ। जसका कारण सामान्य वर्षा हुँदा नै राजमार्ग अवरुद्ध हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार अहिले राजमार्ग पुनर्निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ।