३ भदौ २०८३, बुधबार
19 August , 2026,Wednesday

कप्तानगञ्ज र सिराहा घटना: दुई सिडिओसहित प्रहरीमाथि कारबाही सिफारिस

फाइल फोटो

काठमाडौँ । गत महिना सुनसरी र सिराहामा भएका साम्प्रदायिक घटनाको नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको छानबिन समितिहरूले निष्कर्ष निकालेका छन् । गृह मन्त्रालयद्वारा गठित दुई छुट्टाछुट्टै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै सम्बन्धित प्रमुख जिल्ला अधिकारीदेखि घटनामा संलग्न सुरक्षाकर्मीमाथिसमेत कारबाही सिफारिस गरेका छन् ।

समितिले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कारबाहीस्वरूप सचेत गराउन सिफारिस गरेको छ । घिमिरे ११ साउनमै सरुवा भइसकेका छन् भने पौडेल सप्तरीमा कार्यरत छन् ।

सुनसरीको कप्तानगञ्जमा १० साउनमा भएको घटनामा प्रहरीले गरेको बल प्रयोगलाई छानबिन समितिले मुख्य विषयका रूपमा औँल्याएको छ । सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले घटनाका क्रममा २० राउण्ड गोली प्रहार भएको र गोली चलाउने कार्य बल प्रयोगको सिद्धान्तविपरीत रहेको निष्कर्ष निकालेको हो । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले गोली चलाएका थिए, जसबाट तीन जनाको मृत्यु भएको थियो ।

यस्तै, सिराहाको घटनामा पनि सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकामाथि प्रश्न उठाइएको छ । सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले सिराहाका एसपी बासुदेव पाठक, डिएसपी रमेशबहादुर पाल र इन्सपेक्टर सुमन नेपालीलगायतमाथि कारबाही सिफारिस गरेको छ ।

सिराहामा १४ साउनमा प्रहरीको गोली प्रहारबाट गणेश यादवको मृत्यु भएको थियो ।

दुवै घटनाको छानबिनपछि समितिहरूले तत्कालीन सुरक्षा व्यवस्थापनमा देखिएका कमजोरी सच्याउँदै आगामी दिनमा यस्ता साम्प्रदायिक घटना दोहोरिन नदिन विभिन्न सुझावसमेत दिएका छन् । प्रतिवेदनमा प्रशासनिक समन्वय, सुरक्षा परिचालन तथा बल प्रयोगसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?