रसुवा । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवाको टिमुरे बजारमा ठूलो क्षति पुगेपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। बुधबार बिहान आएको बाढीले टिमुरे क्षेत्रमा जनजीवन प्रभावित बनाएपछि नेपाली सेनाले उद्धारका लागि जनशक्ति तथा हेलिकप्टर परिचालन गरेको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार कार्यका लागि दुईवटा हेलिकप्टर घटनास्थलतर्फ पठाइएको छ। हेलिकप्टरसँगै धुन्चे र त्रिशुलीमा रहेका सेनाका बेसबाट थप उद्धार टोलीसमेत प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको उनले जानकारी दिए।
बाढीका कारण घाइते भएकाहरूको उपचारका लागि सेनाको मेडिकल टोलीलाई त्रिशुली अस्पतालमा तयारी अवस्थामा राखिएको छ। बाढीले टिमुरे क्षेत्रमा पुर्याएको क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले क्षतिको थप विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ।