चोलेन्द्रशमशेर जबरालाई भेट्न पुगेका एआईजी वंशीराज दाहाल बर्खास्त
काठमाडौँ, २३ असोज । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन् । आचरण विपरीत कार्य गरेको निष्कर्षसहित छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले उनलाई सेवाबाट बर्खास्त गरेको हो ।
छानबिन प्रतिवेदन प्राप्त भएपछि दाहाललाई बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिका संयोजकसमेत रहेका एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका थिए ।
प्रतिवेदनमा दाहालले आचरण विपरीत कार्य गरेको निष्कर्ष निकाल्दै सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको थियो ।

नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । उक्त दफाको खण्ड (क) मा सामान्य सजाय र खण्ड (ख) मा विशेष सजायको प्रावधान रहेको छ ।
विशेष सजायअन्तर्गत भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था छ ।
के थियो वंशीराजमाथिको आरोप ?
गत ११ असोजको बिहान अनुमति नलिई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न गएको आरोप दाहालमाथि लागेको थियो । जबरालाई सुरक्षा चुनौती रहेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मध्यराति घरबाट प्रहरी कार्यालय ल्याएको थियो ।
त्यसपछि जबराका नातेदारसमेत रहेका दाहाल उनलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । अनुमति नलिई भेट्न गएको विषयलाई लिएर उनीमाथि छानबिन सुरु गरिएको थियो । छानबिनकै क्रममा दाहाल निलम्बनमा परेका थिए ।
समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएपछि गृह मन्त्रालयले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।