६ भदौ २०८३, शनिबार
22 August , 2026,Saturday

इसेवाको डिजिटल सुरक्षा थप मजबुत, ‘पीसीआई डीएसएस’ भर्सन ४.०.१ प्रमाणित

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले भुक्तानी कार्डसम्बन्धी डाटा सुरक्षाका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड’ (पीसीआई डीएसएस) भर्सन ४.०.१ को प्रमाणीकरण प्राप्त गरेको छ।

कार्ड डाटा सुरक्षासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि इसेवाले उक्त मान्यता प्राप्त गरेको हो। कम्पनीका अनुसार यस प्रमाणीकरणले इसेवामार्फत हुने भुक्तानी कारोबार तथा प्रयोगकर्ताका संवेदनशील डाटाको सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

‘पीसीआई डीएसएस’ भुक्तानी कार्डको डाटा सुरक्षाका लागि स्थापित विश्वव्यापी सुरक्षा मापदण्ड हो। यसको विकास र सञ्चालन पीसीआई सुरक्षा मापदण्ड परिषद्ले गर्दै आएको छ। यस मापदण्डअन्तर्गत सुरक्षित नेटवर्क तथा प्रणाली निर्माण, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित परीक्षण तथा निगरानी र सूचना सुरक्षा नीतिलगायतका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। इसेवाले भुक्तानी डाटा सुरक्षासम्बन्धी यिनै मापदण्ड पूरा गर्दै ‘पीसीआई डीएसएस’ को प्रमाणीकरण प्राप्त गरेको जनाएको छ।

इसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले उक्त प्रमाणीकरणले प्रयोगकर्ताको डाटा सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए। “यस प्रमाणीकरणले इसेवाको समग्र डाटा सुरक्षा तथा प्रयोगकर्ताको विश्वासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ,” उनले भने, “हामी अन्तर्राष्ट्रिय रूपमा स्थापित सुरक्षा मापदण्ड तथा उत्कृष्ट अभ्यासअनुसार आफ्ना प्रणाली र प्रक्रियालाई निरन्तर स्तरवृद्धि गर्दै जानेछौँ।”

इसेवाले प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारीको सुरक्षालाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको जनाएको छ। सुरक्षित डिजिटल भुक्तानीका लागि कम्पनीले प्राविधिक सुरक्षा पूर्वाधारसँगै प्रणालीको नियमित निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण र पहुँच नियन्त्रणजस्ता अभ्यासलाई निरन्तर सुदृढ गर्दै आएको छ।

कम्पनीका अनुसार ‘पीसीआई डीएसएस’ को मान्यता प्राप्त गर्नु सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने इसेवाको निरन्तर प्रयासको महत्त्वपूर्ण कोसेढुङ्गा हो। इसेवा यसअघि नै आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणित संस्था पनि हो। यस अन्तर्राष्ट्रिय प्रमाणीकरणले कम्पनीका प्रणाली तथा सञ्चालनमा रहेका सूचना सुरक्षा जोखिमको निरन्तर पहिचान, व्यवस्थापन र सुधार सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

इसेवाले आगामी दिनमा पनि प्रयोगकर्ताको डाटा तथा कारोबार सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरूप आफ्ना प्रणाली, प्रक्रिया र सुरक्षा अभ्यासलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्