रिकन्डिसन अटो व्यवसायीलाई सहज निर्जीवन बीमा सेवा, आइजीआई प्रुडेन्सियलसँग सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनास्थित नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नेपाल रिकन्डिसन अटो व्यवसायी संघ तथा संघसँग आबद्ध सदस्य र व्यवसायीलाई सहज, गुणस्तरीय तथा भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता गरिएको छ। सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीलगायत कम्पनीका उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।
त्यसैगरी, नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रबिन लामिछाने, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्यहरूको समेत उपस्थिति थियो। सम्झौताअनुसार नेपाल रिकन्डिसन अटो व्यवसायी संघसँग आबद्ध देशभरका सदस्यहरूको सम्पत्ति तथा सवारीसाधनलगायत संघ र सदस्यसम्बद्ध संस्थाबाट बिक्री तथा वितरण हुने सवारीसाधनको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गरिनेछ।
बीमा गरिएका सम्पत्ति तथा सवारीसाधन कुनै दुर्घटनामा परी क्षति भएमा दाबी भुक्तानी प्रक्रियालाई सहज र सरल बनाउने विषयमा समेत दुवै संस्थाबीच सहमति भएको जनाइएको छ। सम्झौतापछि संघसँग आबद्ध व्यवसायी तथा उनीहरूका ग्राहकले निर्जीवन बीमा सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
सो अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल रिकन्डिसन अटो व्यवसायी संघ तथा संघसँग आबद्ध सदस्य र व्यवसायीलाई कम्पनीबाट उपलब्ध विभिन्न प्रकारका निर्जीवन बीमा सेवा ढुक्क भएर लिन आग्रह गरे।
उनले बीमालेख खरिद गरी सम्पत्ति, सवारीसाधनलगायतका विभिन्न जोखिमको बीमा गर्न सकिने बताउँदै कम्पनीले सहज र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष लामिछानेले संघसँग आबद्ध व्यवसायी तथा ग्राहकको संख्या क्रमशः बढ्दै गएको बताउँदै बीमा सेवा छिटो, छरितो र सहज रूपमा प्राप्त हुने अपेक्षा व्यक्त गरे।
उनले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस सम्झौताले संघसँग आबद्ध व्यवसायी तथा ग्राहकलाई बीमा सेवा प्राप्त गर्न थप सहजता हुने विश्वास व्यक्त गरे। कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले आपसी सहकार्यलाई निरन्तरता दिने तथा सेवाको आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।