६ भदौ २०८३, शनिबार
22 August , 2026,Saturday

रिकण्डिसन अटो व्यवसायीको साधारणसभा, आमाघरलाई भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

तस्बिर: शब्दन्युज डटकम

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले ज्येष्ठ नागरिक तथा बालबालिकाको सेवामा समर्पित ‘आमाघर’को निर्माणाधीन भवनका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघको शनिबार काठमाडौंमा सम्पन्न ११औँ वार्षिक साधारणसभाको अवसरमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो।

संघका अध्यक्ष प्रविण लामिछानेको अध्यक्षता तथा आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रिकण्डिसन अटो व्यवसायी, यातायात क्षेत्रका व्यक्तित्व, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले आमाघरले विगत तीन दशकदेखि बालबालिका र ज्येष्ठ नागरिकको सेवामा काम गर्दै आएको बताइन्। आश्रमको सेवा यात्रामा विभिन्न व्यक्ति तथा संस्थाको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सामाजिक सेवामा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन्।

आफ्ना बालबालिकालाई उचित शिक्षा र असल संस्कार दिनुपर्नेमा जोड दिँदै उनले बुबाआमाप्रतिको कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्न सबैलाई आग्रह गरिन्। सो अवसरमा शान्ति कार हाउसका सञ्चालक राजु खड्काले आमाघरका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए।

साधारणसभामा रिकण्डिसन अटो व्यवसायसँग सम्बन्धित विभिन्न विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले व्यवसायमा देखिएका समस्या समाधान, व्यवसायीको हकहित संरक्षण तथा आवश्यक नीतिगत सुधारका विषयमा धारणा राखेका थिए।

त्यस अवसरमा संघका अध्यक्ष लामिछानेले व्यवसायीको हकहित र समस्या समाधानका लागि संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। उनले संघलाई थप प्रभावकारी र व्यवसायीमैत्री बनाउँदै लैजाने बताउँदै सम्पूर्ण व्यवसायीको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

यस्तै संघका निवर्तमान अध्यक्ष तथा संरक्षक रमेशप्रसाद कोइरालाले रिकण्डिसन सवारीसाधनका लागि बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन थालेको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले यस क्षेत्रको व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न वित्तीय क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने धारणा राखे।

संघका महासचिव कुमार बोगटीले संघको आफ्नै भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने जानकारी दिए। भवन निर्माणका लागि धेरै व्यवसायीले आर्थिक योगदान गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ थियो। ११औँ वार्षिक साधारणसभाको बन्दसत्रमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ। हालै संशोधन गरिएको विधानबमोजिम हरेक आर्थिक वर्षमा समयमै साधारणसभा सम्पन्न गरिने संघले जनाएको छ।

यसैबीच, साधारणसभाको अवसरमा नेपाल रिकण्डिसन अटो व्यवसायी संघ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच व्यावसायिक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ। सम्झौताले रिकण्डिसन अटो व्यवसायी र बीमा क्षेत्रबीचको सहकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

साधारणसभालाई व्यवसायीबीच भेटघाट र आपसी सम्बन्ध विस्तारको अवसरका रूपमा समेत उपयोग गरिएको थियो। कार्यक्रमकै अवसरमा संघका तर्फबाट व्यवसायीहरूबीच वनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो। साधारणसभामा यातायात क्षेत्रका विशिष्ट व्यक्तित्व, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीका प्रतिनिधि तथा रिकण्डिसन अटो व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस अवसरमा संघका उपाध्यक्ष प्रदीप रानाले स्वागत मन्तव्य राखेका थिए भने साधारणसभाको सहजिकरण महासचिव कुमार बोगटीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न वक्ताहरूले यातायात तथा रिकण्डिसन अटो व्यवसायमा विद्यमान समस्या, व्यवसायीका हकहित, बैंक तथा वित्तीय संस्थाको लगानी, बीमा क्षेत्रसँगको सहकार्य र व्यवसायलाई थप व्यवस्थित तथा सुरक्षित बनाउन आवश्यक नीतिगत सुधारका विषयमा चर्चा गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्